धरान : नेपाली काँग्रेस धरान उपमहानगरपालिका वाड नं. १५ को कार्यालय भवनको उद्घाटन तथा नव निर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद मिना सुब्बा, विशिष्ट अतिथिमा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, अतिथिहरूमा धरानका मेयर तिलक राई, सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, धरान नगर सभापति श्याम पोखरेल लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता १५ का वडा सभापति डम्बर बहादुर गुरुङले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिना सुब्बाले  वडा र नगरको अधिवेशन सम्पन्न पछि नयाँ नेतृत्व सहित नेपाली काँग्रेस जनताको घर-घरमा  पुग्न थालेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरिन।

धरान नगर सभापति श्याम पोखरेल १४ औ महाधिवेशन पछि गाउँ गाउँमा पुग्ने बाचा अनुरूप उक्त अभियान धरान-१५ बाट सुरु भएको उद्घोष गर्दै धरान काँग्रेसमय बनाउने बताए। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पाटीको महाधिवेशनबाट काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्दै निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। 

धरान-१५ वडा कार्यसमितिमा सभापति डम्बर बहादुर गुरुङ, उपसभापति डिक बहादुर तामाङ, राजन खड्का, सचिव हरि बहादुर श्रेष्ठ, गजेन्द्र लिङथेप सह-सचिव ललितमान योञ्जन, सचिन राई, कोषाध्यक्ष कुमारी लिम्बू सहित २९ सदस्य समितिलाई पदस्थापन गरिएको थियो। कार्यक्रममा नगर सदस्य चूडामणि निरौलालाई सम्मान गरिएको थियो।