इनरुवा : देशको तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुने नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा सञ्चारकर्मीसँगको कुराकानीमा यादवले देशको आवश्यकता र आर्थिक मितव्ययिताको अवस्थालाई हेर्दा तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुने तर्क गरे ।

उनले एकै पटक नभए पनि राज्य र जनतालाई सजिलो हुने गरी कसरी चुनाव गर्ने भन्ने विषयमा गठबन्धनको बिचमा छलफल भइरहेको बताए । तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने विचार पनि आएको बताउँदै “सबैभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकै चोटि गर्ने हो,” यादवले भने ।

यस्तो गर्दा मतदाता सहित राजनीतिक दललाई पनि सजिलो हुने उनको भनाइ थियो । “धेरै चलखेल, षड्यन्त्र पनि गर्न नपाउने, राज्यको आर्थिक बोझ पनि कम हुने, राजनीतिक दललाई पनि सजिलो हुन्छ कि भन्ने एउटा विचार छ,” उनले भने ।

यादवले सरकार सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउने गरी काम गरिरहेको बताए । यसअघिको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न आवश्यक ऐन, कानुन बनाउनुतर्फ ध्यान नदिएको उनको भनाई थियो ।

पूर्व मन्त्री यादवले देशको विकास, संविधानको रक्षा र जनताको भावनाको सम्बोधन गर्नका लागि वर्तमान गठबन्धन बनेकाले अगामी निर्वाचन सम्म समन्वय र सहकार्य सहित टिक्ने दाबी गरे । उनले देशको आवश्यकतालाई ध्यानमा राखेर पाँच दलीय गठबन्धन बनेको र यो अगामी निर्वाचनसम्म मजबुत भएर टिकिरहने जिकिर गरे ।

नेता यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबिच सहकार्य आवश्यक रहेको र त्यसैलाई सार्थक पार्नका लागि ओली विरुद्ध आफूहरू समेत लागेर गठबन्धन बनाएको बताए ।

गठबन्धन बिचमा तालमेल नभएको गुनासो र आरोप छ नि भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता यादवले कुनै पनि सत्ता र गठबन्धन वा पार्टीमा नेतृत्व गर्नेहरूको बिचमा विवाद र अन्तरद्धन्द हुनु स्वाभाविक भएको तर त्यसलाई मिलाएर लानु नै राजनीति भएकाले तालमेल नमिलेको भन्न नहुने बताए ।

उनले अहिले निर्वाचनको बारेमा भन्दा देशको संविधान रक्षा, विभिन्न आन्दोलनको उपल्बधीको रक्षा र जनताको आवश्यकता पुरा गर्ने विषयमा गठबन्धन बिचमा निरन्तर छलफल भइरहेको बताए । उनले भने, ‘ बाम गठबन्धन र पार्टी एकीकरण भन्दा गठबन्धन नै ठिक रहेको छ, काग्रेंस, नेकपा (एस), जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर सरकार बनेकोले एकता भन्दा गठबन्धन नै सही छ ।

’ उनले फरक प्रसङ्गमा अहिलेको संविधान संशोधनको कामलाई अगाडि बढाउनुपर्ने समेत बताए । यादवले माओवादी केन्द्र प्रति देशभर नै जनलहर बढेकाले त्यसलाई व्यवस्थित गर्ने, जनभावनाको कदर गर्ने र माओवादीको नीतिमा देश चलेकाले नेतृत्व पनि आफूहरूले गर्नुपर्ने दबाब स्वरूप पार्टीमा प्रवेशको क्रम बढेको बताए ।