धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन रोचक हुने भएको छ । इतर पक्षका तिलक राईलाई देउवा प्यानलको आधिकारिक उम्मेदवार बनेपछी चुनावी समीकरण रोचक भएको हो । इतर पक्षका दुवै नेताहरू तिलक राई र सुजेन्द्र तामाङ बिच प्रतिस्पर्धा हुने भएको छ ।

सुनसरी जिल्ला सचिव तामाङ र धरान उपमहानगरका निवर्तमान सभापति राईको प्रतिस्पर्धामा नयाँ ट्विस्ट देखिएको छ । राईकै समर्थनमा धरान उपमहानगर समितिमा इतर पक्षका श्याम पोखरेल सभापति निर्वाचित भए। देउवा पक्ष किशोर राई पराजित भएपछि संस्थापन इतर पक्ष बलियो देखिएको थियो । तथापि क्षेत्रीय अधिवेशनमा भने तिलक राईले संस्थापन पक्षकै समर्थनमा उम्मेदवारी दिएका छन् ।

शनिवार धरानको अमन बजारमा आयोजित कार्यक्रममा उनको उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा सभामा सहभागी भएका नेताहरूले राई संस्थापन पक्षको बलियो उम्मेदवार भएको बताएका छन् । काँग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले काँग्रेसको छानो शेरबहादुर देउवा भएकाले आफूहरू त्यही छानो मुनी रहेको बताइन् । देउवा समूहको भनेर बाहिर प्रचार गर्नेहरू आधिकारिक नभएको बताउँदै उनले तिलक राई टिमको उम्मेदवार भएको धारणा राखिन् । उनकै भनाइलाई आधार मान्दै अधिकांश वक्ताहरूले तिलक राईलाई विजयी गराउन लाग्नुपर्ने बताए ।

laxmi-khatiwada

उता राईले हालका क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको साथमा संस्थापन समूहको समर्थनमा उम्मेदवार भएको बताए । देउवा समूहमा प्रवेश गरेको विषयमा प्रष्ट नपारेका उनले श्रेष्ठ र आफू व्यक्ती मात्र नभएर संस्था भएकाले यो संस्थागत निर्णय भएको धारणा राखे।

अघिल्लो अधिवेशनमा आफ्नै टिममा रहेका साथीहरूले बेवास्ता गरेको कारण आफूले अन्य साथीहरूको साथ खोजेको उनको भनाई थियो । काँग्रेसका केन्द्रीय नेताहरूकै गुटको कुनै टुङ्गो नभएका कारण गुटको कुनै विषय नभएको उनले प्रष्ट पारे । आफू किशोर राईसँग मिलेर काम गर्न तयार भए पनि समयले आमनेसामने पार्ने गरेको दुख व्यक्त गरे।

राईलाई विजयी गराउने अभियानमा लागेका क्षेत्रीय सभापति श्रेष्ठले तिलक राई मेयर भएपछि धरानमा धेरै विकाश भएको बताए । राई एकदमै निष्कलङ्क छविको व्यक्ती भएका कारण उनलाई विजयी गराएर काँग्रेस बलियो बनाउनुपर्ने उनको बुझाई छ । संस्थापन इतर पक्षका नेताहरू सहित देउवा पक्षको समर्थनमा चुनावी मैदानमा होमिएका राई विजयी हुनेमा विश्वस्त छन् ।

उता इतर पक्षका उम्मेदवार तामाङले भने चुनावी अभियान तीव्र पारेका छन् । वडा देखी टोल भेला गर्दै उनले घरदैलो अभियान अगाडी बढाएका हुन् । देउवा पक्षले तिलक राईलाई समर्थन गरेपछि असन्तुष्ट रहेका किशोर राईले समेत उनलाई समर्थन गर्ने बुझिएको छ । देउवा समूहका पुराना नेता किशोर राई युवाहरू माझ लोकप्रिय नेताको रूपमा परिचित छन् । तामाङले एक कार्यक्रमका बिच किशोर राई भावी मेयरको उम्मेदवार हुनसक्ने भन्दै भाषण गरेका छन् । किशोरले समर्थन गरे देउवा पक्षको मत पनि पाइने आसमा छन् तामाङ । 

जितकालागी आफ्नो टिमको मत नै पर्याप्त भएपनी किशोर समूहको मत ल्याउँदा निर्वाचन जित्न झन् सहज हुने उनको बुझाई छ । किशोर राईले पनि तिलक राईलाई भन्दा तामाङलाई नै समर्थन गर्ने सङ्केत गरेका छन् । तामाङ समूहको कार्यक्रममा सहभागी हुँदै गरेका उनले कसलाई समर्थन गर्ने भन्नेबारे खुलाएका छैनन् । तथापि तिलक राईप्रति उनी रुष्ट देखिएका छन् ।