सुनसरी : न्यायिक क्षेत्रमा भएको विसङ्गतिलाई हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाधक भएकोले बहिर्गमनको माग गर्दै सुनसरीका कानुन व्यवसायीहरू पनि आइतबार देखि आन्दोलित भएका छन् ।

सुनसरी बारको प्राङ्गणमा भेला भई बिहान ११ बजे देखि १२ बजे सम्म हातमा कालो पट्टी बाँधेर तथा मुखमा कालो मास्क लगाएर न्याय क्षेत्र भित्रको भ्रष्टाचार, बेथिति, बिचौलिया समेतको न्यायिक शुद्धीकरणको माग गर्दै विरोध जनाएका हुन ।

नेपाल बार एसोसिएसनले लामो समय देखि न्यायपालिकामा हुने अनियमितता र इन्साफको विषय वस्तुमा सम्मानित अदालतको सम्मान, मर्यादा र न्यायका बिचको अन्तरसम्बन्धलाई आघात पुग्ने किसिमको न्याय निरोपण सेवा प्रवाहमा देखिएका बेथिति विसङ्गति हटाउन भई रहेको आन्दोलन प्रति ऐक्यबद्धता समेत जनाएको छ ।

उक्त विरोध सभाका वक्ताहरूले स्वतन्त्र, समक्ष र निष्पक्ष न्यायालयका लागि आम कानुन व्यवसायीहरू एक जुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । सो विरोध कार्यक्रम कार्तिक ३० गते सम्म नियमित गर्ने समेत जनाएको छ ।

सो कार्यक्रमका वक्ताहरू वरिष्ठ अधिवक्ता हेमराज पोखरेल, अधिवक्ताहरू लखनलाल यादव, अजय चौधरी, ईश्वरचन्द्र ढुङ्गेल, आश्वीनी भट्टराई, अशोक मेहता लगायतले स्वतन्त्र न्यायालय बनाउनका लागि प्रधानन्यायाधीश जबराले तत्काल निकास दिनु पर्ने समेतका मन्तव्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता सुनसरी बारका उपाध्यक्ष सुमनचन्द्र कार्कीले गरेका थिए ।