धरान : धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सहिद दिवसको अवसरमा आज र पापानीको अवसरमा मङ्सिर १२ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको शुक्रवार गरेको निर्णय अनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३ औँ सहिद दिवसको अवसरमा र खाल्सा क्षेत्रमा बसोबास गर्ने किराँत जातिको मुख्य पर्व पापानीको अवसरमा मङ्सिर १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले हिजो सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिएको जनाएका छन् । गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिँदै आएको छ ।

२०३६ साल कार्तिक अन्तिम साता छिन्ताङमा तत्कालीन सरकारले कम्युनिस्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो । सरकारले ती १६ जनालाई हत्या भएको ३८ वर्ष पछि २०७४ पुस २८ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष कार्तिक २९ गते सहिद दिवस मनाउने गरिन्छ ।

छिन्ताङमा सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज छिन्ताङ आउने कार्यक्रम रहेको छ ।

Sahidbhumi-Suchana