विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।

यसको रोकथामदेखि उद्धार तथा राहतमा सर्वपक्षीय संमन्यय हुनुपर्ने कार्कीको जोड छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसंग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकार बिचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने बताएका हुन् ।

कार्कीले सुरक्षाकर्मी, स्थानीय र सरकारी प्रतिनिधिको साझा प्रयासमा जोड दिँदै भने,“स्थानीय रूपमा हामीले नगरपालिकाका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सकिन्छ ।“ मन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालयले विपदमा पर्ने सम्भावित क्षेत्रको म्यापिङ गराएर उपलब्ध साधन स्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरू सँग समन्वय गर्ने बताए । मन्त्री कार्कीले विपद्का लागि अति आवश्यक वस्तुको व्यवस्थापनमा कमजोरी नगर्ने बताए ।

जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भएकोले उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले झकझक्याउनु पर्नेमा जोड दिए ।

त्यस अवसरमा ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुन कुमार मण्डलले जिल्लामा विपद्बाट हुने गरेको क्षति र बचाव सम्बन्धी भए गरेका कामबारे जानकारी गराए । कार्यक्रममा ओखलढुङ्गाका विभिन्न पालिकाका प्रमुख उपप्रमुख, रेडक्रस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।