धरान : ओखलढुङ्गाको सुनकोसी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ  ।

सो दुर्घटनामा परि १२ जना घाइते भएका छन् । आज बिहान साँढे ७ बजे ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर  र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनालाई  मुस्ताङ एयरको हेलिकोप्टरद्वारा काठमाडौँ उपचारका लागि पठाइएको छ । ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरूलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।