धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा काँग्रेसमा गएसँगै ३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा काँग्रेसले लिनुपर्ने बताएका छन् ।

धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की काँग्रेस भएको र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री काँग्रेस रहेको आरोप लगाए ।

प्रचण्डसँग पार्टी एकता गरेका बेला ३ वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले काँग्रेससँग मन्त्री मागेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको समेत बताए ।

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायालयमा विवाद बढेको बताए । उनले अहिले न्यायधिसले मुद्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप लगाए ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन सरकारको नेतृत्वमा आउने बताउँदै आगामी निर्वाचनमा ५५ लाख बढी मत ल्याउने गरी पार्टीको काममा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेपाल १० वर्षमा संसारका धनी देश सरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गरे । उनले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएको र एक्लाउँदै जानुपर्ने बताउनु बताए ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले सहिद र तिनका परिवारलाई जहिल्यै सम्मान गर्ने र तीनका सपना साकार गर्न लागि पर्ने बताए । यसैबिच नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन भएको बताए ।

कार्यक्रममा बोल्दै पोख्रेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रस्ट भएको बताए ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले गठबन्धनका विरुद्ध जनता जाने बताए । उनले कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताए ।

पोख्रेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको सङ्गठनात्मक जीवन खलबलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताए ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समाजवादको कुरा गरेर काँग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाए । उनले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताए ।

सहिद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा पनि धनकुटाको छिन्ताङ आएको भए पनि समय अभावले बोल्न पाएनन् ।