झापा : हरेक पटक राजनीतिक दलले जनतालाई सडकमा उभ्याउन अनेक नारा र एजेन्डा दिने गरेका छन् । पञ्चायत विरोधी आन्दोलनमा जनता सडकमा उत्रिए, कहिले जनयुद्धको भन्दै भएको द्वन्द्वमा जनता सडकमा पसे, कहिले राजाको शासन विरुद्ध भन्दै गोलबद्ध भए, तर ती सबै राजनीति गर्नेको सत्तामा चढ्ने भर्‍याङ भन्दा बढी कहिल्यै हुन सकेन ।

नेपाल बन्द २०४६ सालको परिवर्तन पछि विकास भएको विरोधको शैली हो । यसमा ठुलठुला पार्टी देखि लिएर सानो सानो समूहबाट सामान्य नेपाली जनजीवन ठप्प पार्ने प्रयास गरिन्छ । नेपाल बन्द आह्वानकर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्र बन्द गर्न दबाब दिन्छन् । विभिन्न सानो ठुलो माग तेर्स्याई नेपाल बन्द आह्वान गर्नेहरूले शान्तिपूर्ण विरोध गर्दा सरकारले नसुनेकोले नेपाल बन्द आह्वान गरेको बताउने गरेका छन् ।

सर्वसाधारणलाई जे जति कठिनाइ परे तापनि कसैलाई कसैको वास्ता हुन्न । नेपाल बन्दको कारणले सर्वसाधारण जनताले दुःख पाउँछन् । यसले गर्दा बिरामी, विद्यार्थी, कर्मचारी, पर्यटकले एकदम पीडा पाउँछन् । दैनिक उपभोग्य सामानको लागि पनि सर्वसाधारण जनताले दुःख पाउँछन् । अलि गहिरिएर सोच्ने हो भने यो एउटा मानवता विरोधी गतिविधि हो ।

एउटा मजदुर आफ्नो छोराछोरी र श्रीमतीलाई एक छाक मिठो मसिनो खुवाउन र आफ्ना विभिन्न आशा अभिलाषाहरू पुर गर्न बिहानै देखी काममा निस्कन्छ । तर, राजनीति गर्नेले त्यो कहिल्यै बुझ्दैनन् । जब चुनाव आउँछ तब मात्र ती विपन्न नागरिकको याद नेताहरूलाई आउँछ । केही छाक मिठो मसिने खुवाउन गाउँ छिर्छन् नेता । बदलामा भोट लिए जान्छन् । त्यसपछि बेपत्ता । त्यसैले त नागरिक नेपाल बन्दबाट आजित र निराश छन् ।

damak-banda

झापा दमकको आकाशे पुल नजिकै ठेलागाडामा बसिरहेका सन्तोष माझी भन्छन्, “बालबच्चा पाल्नु कि पार्टीका नेताको बन्दलाई समर्थन गर्नु ? ” उनको यो रोदन त केबल गरिखाने वर्गको समस्याको एक प्रतिनिधिमूलक घटना मात्र थियो । उनीजस्ता लाखौँ नागरिक जो दिनभरि कमाएर बेलुकाको छाक टार्ने गर्छन् ती सबैको साझा समस्या हो यो । तर बन्द गराउनेहरूका विरुद्ध उनीहरू बोल्न समेत डराउने गरेका छन् ।

सन्तोष भन्छन्, “अहिले बोलेर के गर्नु भरे किन बोलिस्, किन विरोध गरिस् भनेर पिटाई खाइन्छ । ”
सन्तोषकै जस्तो कुरा गर्छन् सोही ठाउँमा आफ्नै ठेलागाडामा सुस्ताइरहेका दलिन मोहम्मद पनि । “के ले खाने के ले हिँड्ने ? रासन दोकानमा बाँकी दिँदैन । एक दिन बन्द हुँदा चुल्हो बल्न गाह्रो छ । ” उनले भने ।

बन्दको बहानामा मङ्गलवार फेरि सबैले सास्ती भोग्नु परेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दको सबैभन्दा ठुलो मारमा सर्वसाधारण जनता परे । भन्नलाई चाहिँ जनताकै हितका लागि भन्ने अनि तिनै जनतालाई सास्ती दिन बन्द गरिदिने नेताहरूको पारालाई सर्वसाधारणले पटक्कै मन पराएका छैनन् ।