झापा : लेटर प्रेसबाट सुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ।
झापाको बिर्तामोड नगरपालिका-१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मङ्सिर १ गते २६ वर्ष पूरा गरी २७ वर्षमा प्रवेश गरेको हो।

मोफसलमा पहिलो पटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा 'क' श्रेणीमा वर्गीकृत पत्रिका हो। संस्थाका अध्यक्ष टोरुप प्रसाईँ, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको अवसरमा अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पुर्‍याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश-१ मै पहिलो पटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रूपमा प्रकाशन गर्दै आएको छ ।

प्रदेश-१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रूपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै https://purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रङ्गिन ई–पेपर मोबाइलबाटै पढ्न पाठकलाई सहज भएको छ।

कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहँदा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरू तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्दै आएको प्रधान सम्पादक एकराज गिरीले बताए।

श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलो पटक कर्पोरेट हाउसको रूपमा विकास गरेर लाने प्रधान सम्पादक गिरीको भनाइ छ ।

यता पत्रिकाको बजारलाई अझ बिस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताए। परिवर्तित समयलाई मध्यनजर गर्दै छिटो र प्रभावकारी ढङ्गबाट हरेक क्षेत्रका समाचार तथा जानकारीलाई श्रव्यदृश्य मार्फत अगाडि बढाउने योजना अनुसार आगामी दिनमा अनलाइनमा श्रव्य-दृश्य सहितको समाचार बुलेटिनको तयारी भइरहेको अनलाइन समाचार संयोजक नरेन्द्र ढकालले बताए । पूर्वमै विश्वसनीय सञ्चार माध्यम को रूपमा अगाडि बढिरहेको पूर्वाञ्चल दैनिक पाठकमाझ लोकप्रिय रहेको छ।