धरान : धरान १३ अमरहाट स्थित गुरुकुल प्रतिष्ठान, धरानले देउसी खेलेर उठेको रकमले धरान ३ मा रहेको सरस्वती वाल आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

प्रतिष्ठानले मङ्गलवार आश्रममा नै पुगेर बिस हजार रुपैयाँ बराबरको खाद्यान्न आश्रमका महासचिव मनिष खड्कीलाई हस्तान्तरण गरिएको थियो । प्रतिष्ठानद्वारा दुई सय केजी चामल, एक कार्टुन तेल, २० केजी दाल, २० केजी चिनी, २० केजी आलु, १० केजी प्याज र नुन प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन राईले जानकारी दिए ।

गुरुकुल प्रतिष्ठान दुर्व्यसनी सुधार तथा उपचार केन्द्र हो । हाल केन्द्रमा २५ जना उपचार तथा सुधारका लागि रहेको सचिव राईले बताए । चाडबाडको वेला केन्द्रका सदस्यहरूलाई सामाजिक कार्यमा सहभागिता गराउनको लागि अभियानको साथ देउसी खेलिएको राईले बताए । प्रतिष्ठानले केन्द्रका सदस्यहरूलाई यसरी नै विभिन्न सामाजिक कार्यमा सहभागिता गराइ युवा तथा नागरिकको सामाजिक उत्तरदायित्वको विषयमा व्यवहारिक रूपमा बुझाउने कार्य गर्दै आइरहेको प्रतिष्ठानले जनाएको छ ।

खाद्यान्न हस्तान्तरणको क्रममा आश्रमका महासचिव खड्कीले प्रतिष्ठान परिवारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । धन्यवाद दिने क्रममा आश्रमको कुनै पनि बिदेसी सहयोग दाता वा संस्था नरहेको र यसरी नै धरानका सहयोगी मनभएकाहरुले व्यक्तिगत तथा संस्थागत रूपमा गरेको सहयोगले आश्रम चलिरहेको बताए । हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मौसम राई, सदस्य सविन राई, आश्रमका बालबालिका लगायतको उपस्थिति रहेको थियो ।