धरान : धरानका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरी अग्रज पत्रकार गोपाल देवानलाई सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनलाई नगद ४१ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

यस्तै, चम्पादेवी सामाजिक सम्मान एवं पुरस्कार नेपालका ऐतिहासिक प्रथम जगतगुरु बाल सन्त मोहन शरण देवाचार्यलाई ५१ हजार नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।

यसै गरी कौशिकी क्याम्पस धरानमा बि एड प्रथम वर्षमा अध्ययनरत मिङमा भोटे लाई १५ हजार र शिक्षा निकेतन माविमा कक्षा–१० मा अध्ययनरत विद्यार्थी कविता चौलागाईंलाई १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उनीहरूलाई सम्मान गर्दै नगद प्रदान गरेका थिए । कायस्थ परिवारले धरानमा पहिलो बस्ती बसाउने आफ्ना बाजे रत्नप्रसादको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरी वर्षेनी विविध क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

समाजसेवी एवं संरक्षक सरला कायस्थका छोरा प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो, पूर्व नगर प्रमुख कुमारबहादुर कार्की, अग्रज पत्रकार हर्ष सुब्बा, समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, निवर्तमान अध्यक्ष अमर खड्का लगायतको उपस्थिति रहेको थियो ।