धरान : धरानका विभिन्न वडाका १४ जना युवाले देउसी खेलेर कमाएको रकमले धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) का विद्यार्थीलाई जाडोका कपडा वितरण गरेका छन् ।

गायक डिल्ली फोम्बो सहितको युवाहरूको टोलीले धरानमा देउसी खेलेको रकमले जाडोका ६७ थान स्वेटर वितरण गरेका हुन् । धरान–१६ का मनिष लिम्बूको अगुवाइमा कार्यक्रम सम्पन्न भएको छ ।

मनिष सहित धरान-१६ का उमेश जिमी, धरान-१५ का विवेकजंग लिम्बू, धरान-१३ का कपिल लिम्बू, धरान-१६ का वीरहाङ लिम्बू, धरान-१२ का नवीन लिम्बू, धरान-११ का डम्बर लिम्बू, धरान-१६ का लक्ष्मी याक्खा, शङ्कर लिम्बू, धरान-१७ का राजु लिम्बू, धरान-१३ का सन्तोष लिम्बू, धरान-८ का धनराज लिम्बू र धरान-१३ का विजय राईको समूहले तिहारमा देउसी खेलेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्मा, ज्येष्ठ नागरिक तथा कार्यक्रमका प्रमुख अतिथि अम्बरबहादुर आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य गङ्गा भण्डारी, प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई लगायत उपस्थित युवाहरूले विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेका थिए ।

‘देउसीको रकमले प्रायः पिकनिक जाने, भोजभतेर आयोजना गर्ने चलन छ, तर पनि हामीले अभावमा बाँचेकाहरूलाई केही सहयोग गरौँ भनेर लागिपरेका हौँ, तिहारमा सङ्कलित रकम साथीभाइ मिल्यो, खाएरै सक्नुभन्दा जाडोमा बालबालिकालाई जाडोका कपडा दिऔँ भन्ने उद्देश्यले सहयोग गरेका हौँ’ युवा मनिष लिम्बूले भने ।

यस्तै, कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही ४ सयका दरले दलित छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।