धरान : कार्तिक शुक्ल पूर्णिमाको दिन आज चतुर्मास समापन हुँदै छ ।

एक महिना अगाडि सुरु भएको कार्तिक स्नान पनि आज समापन हुँदै छ । आज वराहक्षेत्रमा ठुलो मेला लाग्दैछ । आज यसै अवसरमा आज धरान उपमहानगरपालिकामा सार्वजानिक बिदा दिइएको छ ।

चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन । यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको हो । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ कार्यको सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुने गर्दछन् । चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुन्छन् ।

चतुर्मास सँगसँगै सनातनी वैदिक धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।

आज सुनसरीको वराहक्षेत्रमा स्नान गर्ने भक्तजनहरूको ठुलो घुइचोलाग्ने गर्दछ । वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ हो ।

ब्रह्म पुराण वराह पुराण र स्कन्द पुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो । वराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ ।

वराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट भइनै रहन्छ तर पनि यहाँ ठूलाठूला मेलाहरू लाग्ने अवसर भने कार्तिक पूर्णिमा र मकर सङ्क्रान्ति हुन् ।

कार्तिक पूर्णिमाका अवसरमा विशेष गरी भारतबाट र मकर सङ्क्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भर्ने ज्यादा जसो मानिसहरू वराहक्षेत्रमा आउने गर्दछन् ।

धरानमा आज सार्वजनिक बिदा
आज कार्तिके पूर्णिमा अर्थात् वराहक्षेत्र मेलाको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

उपमहानगरपालिकाले हिजो एक सूचना जारी गर्दै वराहक्षेत्र मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य कार्यालयहरू र धरानमा रहेका शैक्षिक संस्थाहरूसमेत बन्द रहने उपमहानगरको सूचनामा उल्लेख छ ।

Bida-Suchana