धनकुटा : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनकुटामा भएको अधिवेशनमा प्रदेशसभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन् ।

उनी २३३ मतसहित विजयी बनेका हुन । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी तिलक महतले १७६ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा जम्मा ४३५ मत खसेको थियो ।

प्रदेशसभा (ख) मा सभापति, सचिव र सहसचिव पदमा मतदान भएको थियो । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २२७ र १७० मत प्राप्त गरेका छन् । यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः १८४ र १७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । समितिको कोषाध्यक्ष निर्वाचित पदाधिकारी मनोनीत गर्ने काँग्रेसको विधानमा उल्लेख छ ।

जिल्ला र प्रदेशसभा क का आकाङ्क्षी :
काँग्रेस अधिवेशन अन्तर्गत प्रदेशसभा (क) को आइतबार र जिल्लाको अधिवेशन सोमबार हुने काँग्रेस धनकुटा सचिव विजय सन्तोषी राईले बताए ।

प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनबाट एउटै प्रतिनिधि आउनुपर्ने भएकाले उनीहरूको सहजताको लागि प्रदेशसभा ‘क’ को अधिवेशन जिल्लाको अधिबेशनकको अघिल्लो दिन गर्ने तयारी गरिएको राईले जानकारी दिए । धनकुटामा प्रदेशसभा ‘क’ को अधिवेशन र जिल्ला अधिवेशन धनकुटा बजारमा हुने भएको छ ।

जिल्ला अधिवेशनमा सभापतिका आकाङ्क्षीमा वर्तमान कोषाध्यक्ष दिनेश राई, कमोट फागो र नेपाल विद्यार्थी सङ्घ धनकुटाका सभापति बालानन्द दाहाल रहेका छन् । वर्तमान सभापति पनि आकाङ्क्षी रहेको बताइए पनि हाल उनी पछि हटेको बताइएको छ ।

यस्तै हाल जिल्ला समिति सचिव रहेका विजय सन्तोषी राई र जिल्ला सदस्य रहेका लेखनाथ पौडेल, निर्मल ओझा, रोषेश श्रेष्ठ, जयन्द्र घिसिङ, राजेन्द्र प्रसाद पौडेल सचिवका आकाङ्क्षी रहेका छन् ।

यता प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा वर्तमान जिल्ला सदस्य मोहन बान्तवा राई र सो क्षेत्रकै वर्तमान सभापति जितेन्द्र रुम्दाली राई आकाङ्क्षी रहेका छन् ।