धरान : नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दै छ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुङ्ग्याइसकेको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।

११ मङ्सिरमा पालिका र २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन हुने जनाएको छ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दै छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

धरानमा पनि आज केही वडा बाहेकका सबै वडामा वडा अधिवेशन हुदैछ ।
माओवादी केन्द्रका नेता चोत्लुङले दिएको जानकारी अनुसार धरानका २० वडा मध्ये ५ वटा वडा बाहेक सबै ठाउँमा आज वडा अधिवेशन हुने छ ।