इटहरी : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन जारी छ ।

प्रदेश १ का महत्त्वपूर्ण राजनैतिक क्षेत्र मानिएका सुनसरी र मोरङमा आज निर्वाचन हुँदै छ । शुक्रवार मनोनयन दर्ता गराएका उमेद्धवारहरु बिच शनिवार दिउँसो १० बजे देखी मतदान हुने कार्यसूची रहेको छ । आजको निर्वाचनले प्रदेश निर्वाचन क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधिको छनौट गर्ने भएको छ ।

शुक्रवार झापामा सम्पन्न अधिवेशनमा इतर पक्ष बलियो देखिएको छ । संस्थापन पक्षका विश्वप्रकाश शर्माकै क्षेत्रमा इतर प्यानलका उम्मेदवार विजयी भएका छन् ।

शनिवार सुनसरीको ६ प्रदेश निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धाबाट प्रदेश क्षेत्रीय कार्यसमिति चयन हुने भएको छ । ८ प्रदेश निर्वाचन क्षेत्र भए पनि विजय कुमार गच्छदारको निर्वाचन क्षेत्रका दुवै प्रदेश क्षेत्रीय समितिमा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

एक साता देखी आफ्नो घरैमा कार्यकर्तालाई बोलाएर सहमतिको लागी आग्रह गर्दै आएका उनले सहमति गर्न दबाब दिएका थिए । उनको दबाब र आग्रह अनुसार नै सुनसरी क्षेत्र नम्बर ३ मा सहमति भएको हो । शुक्रवार प्रदेश निर्वाचन क्षेत्रीय समितिमा सहमति भए पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा भने सहमति हुन सकेको छैन ।

पूर्व फोरम लोकतान्त्रिकका नेतालाई सभापति बनाउने गरी उनले गरेको तयारी सफल नहुने भएपछि सहमति नजुटेको हो । सुनसरी क्षेत्र नम्बर ४ बाहेक अन्य निर्वाचन क्षेत्रमा इतर प्यानल बलियो देखिएको छ । सुनसरी ४ संस्थापन प्यानलका बलिया नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र भएकाले उनको प्रभाव बढी देखिएको हो । बाकी १ र २ मा भने इतर प्यानलकै बलियो सम्भावना छ ।

मोरङका १२ निर्वाचन क्षेत्रमा पनि आजै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसअघिको पालिका अधिवेशनमा पनि इतर पक्षको बलियो प्रभाव रहेको मोरङ सुनसरीमा त्यसैको निरन्तरता हुने भएको छ । संस्थापन प्यानल निक्कै कमजोर अवस्थामा रहेको मोरङमा शेखर कोइरालाको प्रभाव छ ।

केही दिन अगाडी मात्रै उनले गृह जिल्लाको भ्रमण गरी उमेद्धवारलाई भेटघाट गरेका छन् । संस्थापन प्यानलका प्रभावशाली नेता मानिएका डा. डिला सङ्ग्रौला, अमृत अर्याल र रमेशजंग रायमाझीको आफ्नै गृह नगरमा इतर प्यानल बलियो देखिएको छ । त्यसैको प्रभाव आज हुन गइरहेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनमा पनि पर्ने देखिएको छ ।