झापा : झापामा एक जना युवा ३१ वर्ष देखी बेपत्ता हुनु भएका छन् ।

८ वर्षको उमेर हुँदा घर छोडेर हिँडेका गौरादह २ नं वडाका टेकेन्द्र फुयाँल अहिले सम्म घर फर्किएका छैनन् । कहाँ छन् ? कस्तो अवस्थामा छन् ? परिवारमा कुनै अत्तोपत्तो छैन । ८ वर्षको काखे छोरो अहिले सम्म सम्पर्कमा नआउँदा उमेरले डाँडा पारी पुगेकी आमा र बुबाको अन्तिम इच्छा त्यही छोरो भेट्ने छ । त्यसैले परिवारले टेकेन्द्रलाई फर्कन अनुरोध गरेका छन् ।

तस्बिर धमिलो भएको छ । किनकि त्यस बेला खिचेर राखेको छोरोको फोटो पटक पटक धुलाएर राख्ने क्रममा फोटो नै अहिले यस्तो धमिलो भएको छ । टेकेन्द्रका बुबा खड्ग प्रसाद फुयाँल अहिले उमेरले ४ कोरी पुग्नु भयो । अहिले उनी घरबाट बाहिर भित्र मात्रै गर्न सक्छन् । बुढो शरीर विभिन्न रोगले थलिएको छ । हप्तामा २ दिन डाइलासिस गराएर जीवन बाँचिरहेको छ । छोरो टेकेन्द्र ८ वर्षको उमेरमा घर छोडेर हिँडेको र त्यसपछि ८ महिना भएपछि घर आएको पनि उनले सुनाए ।

त्यस बेला नेपाली चलचित्र बलिदानमा आमाको महिमा देखाइएकोले आमाको खुब याद आएर आएको छोरोले बताए । तर त्यही आमा मातातिर्थ औँसीमा आमाको मुख हेर्न पाँचथर गएका बेला फेरि घर छोडेर गएको बुबा खड्ग प्रसाद बत्ताउँछन् । वीरगन्जको एउटा तेल कम्पनीमा काम गर्छु अहिले सम्म अर्थात् ८ महिनाको पैसा लिएको छैन । त्यो तलब लिएर म फर्किहाल्छु भनेर गएको छोरो अहिलेसम्म नर्फिर्किएको उनले सुनाए ।

बुबाको यो बुढो शरीरले अव कान्छो छोरोको मुखबाट बुबा भन्ने मात्र सुन्न चाहेको बत्ताउँछन् । छोरोको यादमा बुबालाई अहिले न भोक लाग्छ , न निद्रा । यसैको पिरले शरीर गलिरहेको छ । शरीर निकै कमजोर बनिसकेको छ । बिरामले धेरै च्यापेर केही समय अघि परिवारका सबैले माया नै मारिसकेका पनि थिए । तर कान्छो छोरोको आवाज सुन्ने र एक पटक भए पनि अनुहार हेर्ने पाउँछु कि भन्ने चाहिँ उनमा आशा छ । त्यसैले घरको पीढीमा बसेर बुबाले छोरो आउने बाटो रहेका छन् ।

टेकेन्द्रले वीरगन्जमा काम गर्दा आफूले नाम पनि फेरेको पछिल्लो पटक घर आएका बेलामा सुनाएका थिए । ब्राह्मणको छोरो भन्दा त्यहाँ जिस्काउने भएकोले आफ्नो सहजताका लागि उनले विक्रम थापा नाम राखेको रहेछ । वीरगन्जको मुक्ति आलय निगममा काम गर्ने उनले बताएका थिए । यति मात्र हैन उनले आफ्नो मालिकको नाम महमत मुसिन पनि हो भनेर समेत घरमा बताएका थिए ।

घरबाट निस्केको अन्तिम दिन दिदीसँग टेकेन्द्रको कुरा भएको थियो । दिदी भाइ उमेरले एक वर्षका मात्र जेठा कान्छा । दिदी भाइ पढ्ने विद्यालय एउटै थियो । गोल्डेन सनराईजमा दुवै जना पढ्ने गरेका थिए । अव ८ महिना विद्यालय छुटेपछि फेरि त्यही विद्यालयमा पढ्न लाज हुने भन्दै भाईले दिदिलाई सुनाएका थिए । ‘म एक पटक गएर फर्किहाल्छु तर पहिला पढेको चाहिँ स्कुल पढ्दिन आएर अर्कै स्कुलमा पढ्छु त्यस बेला भाईले बोलेको अन्तिम वाक्य सम्झँदै दिदी सुशीलाले बताइन् ।

आफ्नो काम र काम गर्ने ठाउँका बारेमा यत्तिका जानकारी समेत छोडेर उतै फर्किएका टेकेन्द्र अहिले सम्म फर्किएका छैनन् । त्यसपछि उतै काम गर्ने टेकेन्द्रका मामाको सहयोग माग्यो परिवारले । टेकेन्द्रले छोडेको जानकारीका आधारमा मामाले त्यहाँ आलय निगम पनि खोजे ।

खोजी गर्दा त्यो नामको पम्प भेटियो । तर त्यहाँ काम गर्ने कामदारहरूसँग फोटो सहित देखाएर सोधिखोजी गर्दा टेकेन्द्र त्यहाँ काम गर्दैनन् भन्ने जानकारी पाए । त्यसपछि मामाले खोज्ने आधार पनि सकियो । छोरो अहिले सम्म भेट्नु त परैको कुरा अहिले सम्म सम्पर्क पनि भएको छैन ।

यता आमा र बुबा हरेक दिन हरेक पल यही छोरालाई सम्झेर बस्ने गरेका छन् । छोरोका यादमा रातमा निन्द्रा र खाना खाने बेलामा भोक पनि हराएको छ । आमा र बुबा दुवै रोगी छन् । छोराका यादमा शरीर कमजोर बनिरहेको छ ।

आफ्नो काखको छोरो अहिले सम्म नफर्किएपछि कुन आमाको मन नरोला र ! टेकेन्द्रकी आमा चन्द्रमाया फुयाँलको मन पनि भतभती पोलेको छ । खाना खाँदा र राती सुत्ने बेलामा छोराको यादले उनीहरूलाई निकै सताइरहेको छ । उनीहरू रुँदै रुँदै छोरालाई जहाँ भए पनि जस्तो अवस्थामा भए पनि छोरालाई घर फर्कन बिलौना गर्छन् ।