धरान : आज बिहान धरान १४ को विजयपुर जाने मुख्य सडक सेल्फी रोडमा विद्युत प्रवाह भइरहेको बिजुलीको पोल ढल्दा मानवीय दुर्घटना टरेको छ ।

सेल्फी रोडमा केवलको तार केही दिन देखि लत्रिरहेको र सोही तारमा ट्याक्टरको डालाले तानिदा एउटा पोल भाँचिन पुगेको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका सुपरभाइजर महेश दाहालले बताए । मुख्य सडकमा नाङ्गो विद्युत प्रवाह भइरहेको बिजुलीको तार झरेको पाइएपछि स्थानीयले विद्युत प्राधिकरण धरान वितरण केन्द्रलाई खबर गरेका थिए ।

नाङ्गो बिजुलीको तार भुईँमा भएकोले सो सडक केही समय अवरुद्ध पनि बनेको थियो । विद्युत प्रवाह भइरहेको तार र पोल ढल्दा धन्न मानवीय क्षति हुनबाट जोगिएको सुपरभाइजर दाहालले बताए ।

विजयपुर जाने सडकको दायाँबायाँ मात्रै नभएर धरानका अधिकांश स्थानमा बिजुलीका पोलमा टाँगिएका केवल टेलिभिजनका तार, इन्टरनेटका तारका कारण बिजुलीको पोल अव्यवस्थित बन्दै गएको छ ।

केही समय अघि धरानको भानुचौक क्षेत्रमा त्यस्ता तारहरू बिजुलीको पोलबाट हटाउने अभियान थालिएको भए पनि धरानका अरू स्थानमा समस्या जस्ताको तस्तै रहेको छ ।

धरानकै मुख्य बजार भानुचौक देखि उत्तर छाताचौक सम्म बिजुलीको पोलमा टाँगिएका विभिन्न तारले सडक किनारा आसपासमा लत्रिएर धरान बजारको सौन्दर्यलाई समेत कुरूप बनाएको छ ।

यसबारेमा बजारलाई सुन्दर बनाउन गमला राखिएको छ त्यसलाई कुरूप अव्यवस्थित तारहरूले गरिरहेको छ । यसबारेमा धरान उपमहानगरपालिकाको ध्यान जान आवश्यक रहेको मुख्य बजारवासीहरूको भनाई छ ।