धरान : मोरङ र झापामा ब्राउन सुगर र लागुऔषध सहित ८ जना पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको विराटनगर महानगरपालिका १५ को १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिले बस्ने २३ वर्षीय विवेक तामाङ रहेका छन् ।

हिजो बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।

यसै गरी झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारीबाट प्रहरीले ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही स्थानका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, सोही स्थान ६ संगमटोल का २० वर्षीय राहुल ठाकुर, सोही स्थान ५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड नगरपालिका ८ सैनिक टोल का १८ वर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका १ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।

हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाइट्रोजन ट्याब्लेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात् उनीहरूले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।