इनरुवा : नेकपा एकीकृत समाजवादी सुनसरीले सदरमुकाम इनरुवामा जिल्ला पार्टी कार्यालय विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ ।

इनरुवा ३ स्थित सखुवागाछी-मालपोत सडक खण्डमा रहेको ऋर्षीराम निरौलाको घर भाडामा लिएको नेकपा एसले शुक्रवारबाट औपचारिक कार्यक्रम गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।

पार्टी कार्यालयको औपचारिक सुरुवात गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सिनाले सुनसरी जिल्लामा पार्टी सङ्गठनको कामलाई व्यवस्थित बनाउनका लागि दैनिक कार्यालय सञ्चालन गरी सङ्गठन परिचालन गरिने बताए ।

केन्द्रीय सदस्य तिम्सिनाले सुनसरीका १२ वटै पालिका र सबै वडाहरूमा सङ्गठनका गतिविधि गर्दै जिल्लामा प्रत्येकको घरदैलोसम्म नेकपा एसका नेता कार्यकर्ताहरूको सम्बन्ध जोडिने अभियान भोलिबाटै सुरु हुने जानकारीसमेत गराए ।

नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयबाट राजनीतिक, साङ्गठनिक, प्रशासनिक गतिविधिहरू सञ्चालन गरी पार्टीको कामलाई अगाडी बढाउनका लागि नेता कार्यकर्ताहरू परिचालित हुने बताए ।

अध्यक्ष निरौलाले जिल्ला कमिटीका निर्णयहरू कार्यान्वयन गराउन र सङ्गठनलाई प्रत्येक वर्ग, समुदाय तह तप्कासम्म विस्तार गर्न कार्यालयबाट संस्थागत निर्णयका योजना कार्यान्वयन लागि नीति निमार्ण गरी निर्देशन र सहजीकरण गर्न सहज हुने बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एस सुनसरीका उपाध्यक्ष सिताराम पराजुली, उपाध्यक्ष रामचन्द्र मटियैत, सचिव वसन्त सुवेदी, उप–सचिव राजेश भण्डारी, प्रदेश १ का सदस्य तीर्थ अधिकारी, सरस्वती लुइँटेल केसी, कार्यालय सचिव विनोद कटुवाल लगायत विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नेकपा एमालेबाट विद्रोह गरी गठन भएको नेकपा एसले सुनसरीमा जिल्ला कमिटी, १२ वटै पालिका र सबै वडाहरूमा कमिटी गठन गरी सङ्गठन निमार्ण र परिचालनका कामहरू गर्दै आएको छ ।