खोटाङ : नेपाली काँग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन्।

जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि बुधवार सदरमुकाम दिक्तेलमा मतदान भएको थियो। शुक्रवार सम्पन्न मतगणनामा पार्टीका पूर्व सभापति एवं महासमिति सदस्यसमेत रहेका राई फेरि जिल्ला सभापतिमा प्यानलसहित विजयी भएका हुन्। जिल्लामा १ हजार ३ सय २२ मत खसेकोमा राईले ६ सय ६९ मत प्राप्त गरे।

उनले सभापतिका अर्का उम्मेदवार पूर्व राज्यमन्त्री समेत रहेका सर्वधन राईलाई ५९ मतले पराजित गरेका हुन्। सर्वधनले ६ सय १० मत प्राप्त गरे। यस्तै उपसभापतिमा विष्णु प्यानलका इवन राई र तीर्थराज भट्टराई विजयी भए। राईले ७ सय ५३ मत र भट्टराईले ७ सय ४२ मत प्राप्त गर्दा उपसभापतिका उम्मेदवार मनोज तिमिल्सिनाले ५ सय ४३ र राजन सैजुले ३ सय ८४ मत प्राप्त गरे।

यस्तै सचिवमा विष्णु प्यानलका समिर राई ७ सय १३ मत र ज्ञानेन्द्र जोशी ६ सय २० मत ल्याएर विजयी हुँदा सचिवका उम्मेदवार रोजन राईले ५ सय ५३ मत र रामकुमार राईले ५ सय ११ मत प्राप्त गरे। यस्तै सह-सचिवमा विष्णु प्यानलबाटै सार्जन राईले ६ सय २४ मत र सालिकराम बन्जराले ५ सय ९३ मत प्राप्त गरेर विजयी हुँदा ध्यानबहादुर राईले ५ सय ६४ मत र राजकुमार राईले ५ सय ७७ मत प्राप्त गरे।

सभापतिमा विजयी विष्णु वरिष्ठ नेता रामचन्द्र पौडेल र पराजित सर्वधन राई प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्।