धरान : धरानमा 'असमानता हटाऔँ, एड्स अन्त्य गरौँ' भन्ने नाराका साथ आज ३४ औँ विश्व एड्स दिवस मनाइएको छ ।

धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका पत्रकार, चिकित्सक र अभियन्तालाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पत्रकार विकास चाम्लिङ राई, बिपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर श्याम प्रसाद काफ्ले, ए.आर.टी. काउन्सीलर निशा श्रेष्ठ, अभियन्ता कृष्ण शुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ (रञ्जना श्रेष्ठ)लाई सम्मान पत्र प्रदान गरेका थिए।

मेयर राईले समाजमा विगतमा भन्दा अहिले एचआईभी सङ्क्रमित बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै आएको बताए । एचआईभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म सङ्क्रमितहरू खुल्न नसक्ने भएकोले उनीहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने मेयर राईको भनाई थियो । मेयर राईले स्वास्थ्य जीवन जिउनू हरेक नागरिकको मौलिक अधिकार भएको बताउँदै एचआईभी सङ्क्रमित भएर बाँचिरहेका व्यक्तिहरूलाई अन्य व्यक्तिहरूले जस्तो सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

धरान पोजेटिभ समूहका उपाध्यक्ष रोमन राईले धरान उपमहानगरपालिकाका आयोजना तथा धरान पोजेटिभ समूहको संयोजनमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, सामाजिक अभियन्ता लगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।