विराटनगर : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उम्मेदवारी दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत सुरु गरिसकेका छन् । नेपाली काँग्रेसलाई बदलिँदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकतान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उम्मेदवारी दिन लागेको थापाले बताएका छन् ।

वि.सं. २०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसबाट नेविसंघको इकाईबाट राजनीतिक जीवन सुरु गरेका थापा २०३५ सालको जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए । उनले बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए।

काँग्रेसको झापा अर्जुनधारा गाउँ समितिको सचिव, सभापतिको हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पुरा गरिसकेका छन् ।

वाणिज्य शास्त्रमा स्नातक गरेका थापा थापा ज्ञानेन्द्र शाहको शाही कालमा सेनाको युनिफाइड कमान्डद्वारा पक्राउ परी चारआली ब्यारेकमा थुनिएका थिए । प्रदेशमा काँग्रेसको भूमिका अझ स्पष्ट रूपमा अघि बढाउन र लोकतान्त्रिक शक्तिबिच सन्तुलन कायम गरी सङ्घीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने थापा बताउँछन् । काँग्रेस प्रदेश १ को चुनाव यही शनिवार प्रदेश राजधानी विराटनगरमा हुँदैछ।