धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनकुटाबाट इएनटी सम्बन्धी समस्या भएर आएका विकास लिम्बुको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिए। उनले सबै परीक्षण सकेर चिकित्सककोमा पुगे। अन्ततः उनको शल्यक्रिया गर्नुनै पर्ने भयो। तर शल्यक्रिया गर्ने समय भने उनले अर्को वर्ष २०७९ साल वैशाखमा पाएका छन् । उनी भन्छन् त्यतिन्जेल कसरी समस्या बोकेर बस्ने ? बरु अन्तै अस्पतालमा जाने भन्दै फर्किएका छन् ।

विकास त एउटा उदाहरण मात्रै हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्स-रे गर्नुपर्‍यो र सामान्य देखि गम्भीर खालका शल्यक्रिया गर्नु पर्ने चिकित्सकले सुझाएमा १ महिना होइन ६ महिना पर मात्रै बिरामीले डेट पाउने गरेका छन् ।

यति लामो समय सम्म बिरामीले रोग पालेर बस्दा बिरामीलाई कस्तो समस्या होला ? त्यसैले यहाँ उपचारमा आउने अधिकांश बिरामी समयमै सेवा नपाएर अन्यत्र अस्पताल जान बाध्य हुने गरेका छन् । देशकै ठुलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुलफेज शल्यक्रिया सञ्चालन नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई समस्या भएको हो ।

प्रतिष्ठानमा एक पटकमा १० वटा शल्यक्रिया गर्न सकिन्छ । तर अहिले अहिले दैनिक ८ वटा मात्रै शल्यक्रिया सेवा सञ्चालनमा रहेको छ । यसले गर्दा फुल फेज शल्यक्रिया हुन नसक्दा उपचारका लागि टाढा टाढाबाट आउने बिरामीलाई समस्या हुने गरेको छ।

बीपीमा कोरोनाको कारण र अरू विभिन्न कारणले गर्दा फुल फेज शल्यक्रिया गर्न नसकिएको प्रतिष्ठानले बताउँदै आएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा आइसियु प्रमुख प्रा.डा. एस.एन. सिंहका अनुसार अहिले ६ वटा दैनिक चल्नुपर्ने ओटी ४ वटा मात्रै चलिरहेको छ । पेईङ शल्यक्रिया समेत बन्द भए पछि बिरामीले सकस पाएका हुन्।

गाइनोमा २, एमेरजेन्सीमा २ वटा गरी जम्मा १० वटामा ८ वटा मात्रै शल्यक्रिया भइरहेको सिंहको भनाई छ। यसो हुनुको मुख्य कारण केही मेसिन बिग्रिएकोले भएको उनले बताए । तर एक हप्ता भित्रमा फुल फेजमा शल्यक्रिया सञ्चालन गर्ने तयारी भइरहेको डा. सिंहको भनाई छ।

बीपीमा टाढा टाढाबाट आएका बिरामीहरूले समयमै शल्यक्रिया गर्न नसकेर अर्को अस्पतालमा जाने गरेको प्रति आफूलाई निकै दुःख लागेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. अरुणकुमार सिंहले बताए। उनले भने फुल फेजमा शल्यक्रिया सञ्चालन गरेर बिरामीले सेवा समयमै पाउनुपर्नेबारेमा प्रतिष्ठानको ध्यानाकर्षण गर्न चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज लागि परेको उनले बताए ।