इटहरी : नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा र गुरुराज घिमिरे बिच प्रतिस्पर्धा हुने भएको छ ।

निवर्तमान झापा जिल्ला सभापति थापा र केन्द्रीय सदस्य गुरुराज घिमिरे बिच प्रतिस्पर्धा हुनुभएको हो । सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको उमेद्धवारका रूपमा थापा प्रस्तुत भएका छन् । प्रदेश १ का सिटौला पक्षले सभापति पाउने सहमति सहित केन्द्र सम्मकै समीकरण मिलाउन देउवा सिटौला एकता भएको छ ।

संस्थापन पक्षमा सभापतिको दौडमा रहेका भिस्मराज आङ्देम्बे र अमृत अर्याललाई अन्यत्रै व्यवस्थापन गर्ने भएपछि थापा सर्वसम्मत उम्मेदवार भएका हुन् । झापा जिल्ला सभापतिमा संस्थापन पक्षमा उमेद्धवारलाई पराजित गर्न लागेका थापाले संस्थापनकै तर्फबाट प्रदेश सभापतिमा भिड्ने भएका छन् ।

उता इतर पक्षबाट घिमिरे प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार दिनभर बसेको इतर समूहको बैठकले घिमिरेको नाममा सहमति गरेको हो । प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको चर्चा बढे पनि डाक्टर शेखर कोइरालाको बलमा घिमिरे उम्मेदवार भएका थिए ।

कोइरालाको पक्षमा डाक्टर मिनेन्द्र रिजाल र महेश आचार्यले दबाब बढाएका थिए । डा. कोइरालाले राजीवलाई पछि मुख्यमन्त्री बनाउने बचन सहित घिमिरेलाई उम्मेदवार बनाउने सहमति जुटाएका हुन् । आचार्य निवासमा लामो समय बसेको बैठकमा अन्य पदाधिकारी बारे अझै ठोस निर्णय भएको छैन ।