धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको स्थलगत निरीक्षण गरिएको छ।

मदन भण्डारी राजमार्गको सर्दु खोलादेखि पूर्व झापाको शान्तिनगरसम्मको प्याकेजमा अहिले काम भइरहेको छ। राजमार्ग अन्तर्गत धरान खण्डमा कहाँ कहाँ समस्या छ ? एलाईमेन्टमा के-के समस्या छन् ? एलाईमेन्टमा भएका दुविधाहरुलाई कसरी सबै भन्दा राम्रो विकल्पबाट समाधान गर्न सकिन्छ ? भन्ने उद्देश्यले मेयर राईको नेतृत्वमा आयोजना तथा ठेकेदार कम्पनीका ईञ्जियरहरु सहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको हो ।

धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाईमेन्टमा करिब ५ सय मिटर जति तलमाथि परेको छ । त्यस कारण त्यो एरियामा त्यही पुलबाट लाने कि अथवा सिधा गरेर लाँदा अर्को पुल बनाउने कि भन्ने विषयमा पनि अनुगमनको क्रममा छलफल भएको जानकारी दिए ।

साथै, उनले त्यस क्षेत्रका स्थानीय जनताहरूले दिएको वैकल्पिक विषयमा पनि प्राविधिक रूपबाट के गर्दा उपयुक्त हुन्छ ? भनेर पनि छलफल भएको बताए । ‘सडक विभागले तोकेको एलाईमेन्ट नै हुन्छ । एलाईमेन्ट परिवर्तन गर्दा गाह्रो हुन्छ ।

कतैकतै विवाद भयो त्यहाँ बनाउनै सकिएन भने त्यो भिन्नै कुरो हो । त्यस्तो समस्या कतै पनि देखिएको छैन ।’ उनले भने, ‘एलाईमेन्ट परिवर्तन गर्ने बित्तिकै त्यसको आइईई गराउनुपर्‍यो । फेरी सरकारबाट स्वीकृति गराउनुपर्‍यो ।

Anugaman-1

डेढ वर्षमा सम्पन्न गराउने कनट्र्याक्ट प्रोजेक्टलाई एक, डेढ वर्ष फेरी लम्बाउनुपर्ने हुन्छ । त्यस कारण एलाईमेन्ट परिवर्तन गर्नुभन्दा नगर्नु नै उपयुक्त हुन्छ । सर्दु खोलामा जुन पुल बनेको छ । त्यहाँ बनेको पुल र आइरहेको बाटोको अलिकति एलाईन्मेन्ट नमिलेको हुनाले सिधा गर्नलाई नयाँ पुल बनाउने कि अथवा बाटो घुमाएर पुलसम्म ल्याउने भन्ने विषयमा एउटा निर्णय गर्नुपर्ने अवस्था छ। अन्य ठाउँमा एलाईन्मेन्ट परिवर्तन गर्नुपर्ने अवस्था छैन ।’

बीपी प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जङ्गल पर्छ । त्यहाँ भएका रुखहरूमा सडक विभागद्वारा टाँचा लगाइएको छ। अनुगमनको क्रममा ठाउँ ठाउँमा कल्भर्ट निर्माण गरिरहेको पनि भेटिएको थियो । मेयर राईले बनाउँदै गरेको कल्भर्टहरूको क्षमता र संरचनाको बारेमा सोधपुछ पनि गरेका थिए ।

दुबैतर्फ ड्रेन बन्ने नबन्ने अथवा कति चौडाइको हो बाटो ? र कतिमा कालोपत्रे हुन्छ ? भन्ने बारेमा पनि जानकारी लिएका थिए । आयोजना तथा सम्बन्धित कर्मचारीहरूसँग पहिलो पटक विस्तृत रूपमा भेटेर नै छलफल गर्ने र संयुक्त रूपमा अनुगमन गर्ने पहिलो काम भएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

Anugaman