इटहरी : नेपाली काँग्रेस प्रदेश १ को सह महामन्त्रीमा उर्लाबारीका मेयर खड्ग फागोले उम्मेदवारी दिएका छन् । पहिलो पटक बन्न लागेको प्रदेश समितिको लागी संस्थापन प्यानलबाट उनले उम्मेदवारी दिएका हुन् ।

यसअघि कोइराला प्यानलमा खुलेर लागी परेका उनी पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको आग्रहमा संस्थापन प्यानलका उम्मेदवार भएका छन् । डाक्टर शेखर कोइराला निकट फागो सिटौलाकै सिफारिसमा टिममा परेका हुन् ।

कोइराला टिममा केही स्वार्थ समूह हाबी बन्दै जाने र पैसावालको पकडमा पार्टी पुग्ने अवस्था देखेकोले टिम परिवर्तन गरेको उनको भनाई छ । युवाहरू अवसरको खोजीमा रहेकाले सिटौलाले अवसर दिएकाले सह महामन्त्री उम्मेदवार भएको उनले बताए ।

कोइराला टिमका सुनिल शर्मा लगायत नेताहरू सँग असन्तुष्ट देखिएका उनी उर्लाबारीका प्रभावशाली नेता हुन् । पैसा विनाका कार्यकर्ताले पनि राजनीति गर्न पाउनुपर्छ भनेर आफूले टिम छाडेको उनले प्रष्ट पारे । प्रदेश १ का सभापति शेरबहादुर देउवा र सिटौला समूहको संयुक्त प्यानल बनेको छ।