धरान : आज मार्ग कृष्ण पक्षको चतुर्दशी, बालाचर्तुदशी। आज बिहानै देखि धरान-१४ विजयपुरमा रहेको पिण्डेश्वर बाबा धाममा शतबीज छर्नेको घुइँचो लागेको छ।

हिजो साँझ देखि भक्तजनको भिड लागेको पिण्डेश्वर मन्दिरमा आज बिहान ४ बजे देखि निकै ठुलो भिड लागेको हो । पिण्डेश्वर मन्दिर वरिपरि अहिले सवारीको चाप र मानिसको भिड बढेको छ ।

मङ्सिर कृष्ण चतुर्दशी अर्थात् आजकै दिन आफ्ना परिवार भित्रका सदस्यको दिवङ्गत आत्माको चिर सान्तीको कामना गर्दै शिवालय वरिपरि धान,जौ,तिल,गहुँ,चना,मकै, कागुनो र मिश्रित शतबीज छर्ने चलन छ। त्यही क्रममा आज बिहानै देखि भक्तजनको भिड पिण्डेश्वरमा बढेको हो।

Satbij-3

शिवालय वरिपरि सतविज छर्नाले पितृहरू तृप्त हुने, अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। यसका साथै शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास पनि रहेको छ। शतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने शास्त्रमा बताइएको छ ।

आजकै दिन पितृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । दीप दान गरी बिहानै पितृको सम्झनामा सतविज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ । अघिल्लो दिन दियो,कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी सङ्कल्प गरेर बत्ती बाल्ने गरिन्छ । त्रयोदशीको रात्रिमा शिव मन्दिर वा देवालयमा दियो बालेर पितृहरूको उद्धारका लागि जाग्राम बसिन्छ ।

Satbij-2

मातापिताको मृत्यु भएको एक वर्ष भएको छैन भने पनि सेतो कपडामा पनि पितृको नाममा दियो बालेर जाग्राम बस्नु पर्दछ । मृतात्मालाई धूममार्ग वा अँध्यारो मार्गबाट उज्यालो मार्गतर्फ गमन गराउनका लागि दियो बालिन्छ ।

Satbij-6

बाला चतुर्दशीमा छरेको शतबीज पितृहरूले पाई आन्तरिक अन्धकार हटाएर नकारात्मक सोच, घृर्णा, ईर्ष्या आदिबाट पितृहरूले मुक्त गर्दछन् भन्ने धार्मिक मान्यता रहेको । आफ्नो भलाई,पितृहरूको उद्धार र आफ्ना सन्ततिहरूको कल्याणका लागि १०० प्रकारका बीउहरू छर्नुपर्दछ भन्ने मान्यता रहेको छ।

Satbij-7 Satbij-4 Satbij-5