इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्व परिवर्तनको पक्षमा लाग्न आग्रह गरेका छन् ।

१४ औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका डा. कोइरालाले नेतृत्व परिवर्तनले मात्र काँग्रेसमा ऊर्जा थपिने भन्दै त्यसको लागी अगाडी बढ्न आग्रह गरेका हुन् ।

प्रदेश १ को महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई गतिशील र ऊर्जावान् बनाउन नेतृत्वमा नयाँ पुस्ताको आवश्यकता भएको बताए । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको उमेद्धवारीले तमाम युवा र परिवर्तनशील कार्यकर्ताको प्रतिनिधित्व गर्ने उनको भनाई छ ।

विचार, कार्यशैली र कार्यक्रममा नयाँपन आवश्यक भएको बताउँदै जारी महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको बताए । काँग्रेसमा परिवर्तन ल्याउन र युग सुहाउँदो नेतृत्व गर्न आफू तयार भएको उनले प्रस्ट पारे ।

१४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिका आकाङ्क्षी समेत रहेका कोइरालाले पार्टीका प्रतिनिधिहरूलाई अन्तर आत्माको आवाज सुनेर भविष्यको नयाँ काँग्रेस निर्माणमा आफ्नो मत दिन आग्रह गरे ।

नेतृत्वमा को पुग्छ भन्दा पनि कस्तो काँग्रेस निर्माण गर्ने भन्ने गहन जिम्मेवारी प्रतिनिधि साथीहरूको विवेकमा भर पर्ने उनले बताए । अहिले काँग्रेसमा देखिएको भागबन्डा, गुट र फुट अन्त्यको लागि ती तमाम सहिदहरूलाई स्मरण गरेर भविष्यको काङ्ग्रेसबारे अन्तर आत्माको पुकार सुन्नुपर्ने धारणा राखे ।