धरान : झापामा हिजो भएको छुट्टा छुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका-३ स्थित पेट्रोल पम्प अगाडि बिर्तामोड देखि भद्रपुर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ वर्षीय सम्पत राजवंशी घाइते भएका थिए । उनको बि एन्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो ।

मोटरसाइकल पछाडि सवार रहेकी ३१ बर्षीया शान्ता कार्की गम्भीर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका-१० का ३६ वर्षीय गङ्गा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेका छन् ।

यसै गरी हिजो दिउँसो सवा ३ बजे गौरादह नगरपालिका-७ ग्वालब्बामा बा ८ च ७७३५ नम्बरको माइक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाइते सोही स्थान बस्ने १९ बर्षीया सम्झना ऋषिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रो भ्यान, चालक गौरादह ४ का ३० वर्षीय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।