इटहरी : नेपाली काँग्रेस प्रदेश १ सभापतिका उम्मेदवार गुरुराज घिमिरेले कार्यकर्ताको न्यायको लागि उम्मेदवारी दिएको बताएका छन् ।

कोइराला प्यानलबाट सभापतिको उम्मेदवार रहेका घिमिरेले पार्टीमा अन्याय मौलाउँदै गएकाले त्यसको अन्त्यको लागी लागी पर्ने बताए ।

प्रदेश १ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब काँग्रेसमा परिवर्तन आउने विश्वास व्यक्त गरे । नेताको बलमा भन्दा कार्यकर्ताको आडमा काँग्रेस टिकेको भन्दै आफू त्यसलाई आत्मसात् गर्दै अगाडी बढ्ने उनको भनाई छ ।

नेताको मनोगत चाहनाले पार्टी चल्न नसक्ने बताएका घिमिरेले कार्यकर्ताको मूल्याङ्कन पद्धतिमा परिवर्तन ल्याउने उनको घोषणा छ । नेता आउँदा वा जाँदा कुनै उल्लास नभएको बताउँदै घिमिरेले राज्यको पदको दुरुपयोग गरेर गुट बनाउने र पार्टीलाई कमजोर बनाउने काम भएको उनले बताए । अब पार्टी कमजोर बनाउने कुनै पनि गतिविधि हुन नदिने उनले बाचा समेत गरेका छन् ।

शनिवार विराटनगरमा हुने निर्वाचनमा संस्थापन प्यानलका उम्मेदवार उद्धव थापा र घिमिरे प्रतिस्पर्धामा छन् । घिमिरेको पक्षमा प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, रक्षा मन्त्री मिनेन्द्र रिजाल, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व केन्द्रीय सदस्य सरिता प्रसाईँको समर्थन छ ।