विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताएका छन् ।

उनले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफू सधैँ सकारात्मक रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरूको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले भने-'शारीरिक रूपमा समस्या भए पनि उहाँहरू मानसिक रूपमा तेज हुनुहुन्छ।’ अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै उनले दुख व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरूको हर्ष, उत्सवको दिन भएको बताए। उनले दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्तिहरूले गरेको उपलब्धिलाई संस्थागत गर्ने दिन पनि भएको बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको ३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरी जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।