धरान : तेह्रथुमको म्याङ्लुङ स्थित छकलीटारमा ५३ वर्ष पछि याक्थुङहरुको भूमि सम्बन्धी छलफल गर्न बृहत् भेला आयोजना भएको छ ।

लिम्बु थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा हुने दुई दिने भेलामा १२० थरी लिम्बुहरूको सहभागिता रहेको छ ।

छकलीटार भेला उद्घाटन कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेखिनिय सहभागिता रहेको थियो । छकलिटारको खेलमैदानमा आयोजित पहिलो उद्घाटन खुल्ला सभा हुनुपुर्व च्याब्रुङ सहितको र्‍यालीले मेयङलुङ बजार परिक्रमा गरेको थियो ।

याक्थुङहरुको भूमि अधिकार सम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले गरिएको उक्त भेलाको प्रमुख अतिथि २०२५ सालमा पहिलो किपट अधिकार सम्बन्धी भेलामा सहभागी प्रेमभक्त तुम्खेवाको प्रमुख आतिथ्यमा भएको छ । कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि तथा राजनीति दलका नेताहरूको सहभागिता रहेको छ ।

यस्तो भेला २०२५ साल ५३ वर्ष पहिले छकलिटारमा नै १० लिम्बुवान सत्र थुमको तुत्तु तुम्याङहाङहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

५३ वर्ष पछि गरिएको यो कार्यक्रम यसैको निरन्तरताको लागि रहेको छ । उद्घाटन कार्यक्रमको अवसरमा सङ्घीय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष विजय निङलेकु, जसपा जिल्ला प्रतिनिधि लोक बहादुर लिम्बू, नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण लिम्बू, माओवादी प्रतिनिधि रमेश घिमिरे, नेकपा एमालेका छत्र रिमाल, जनप्रतिनिधि आठराई गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र मेयङलुङ नगरपालिका मेयर सञ्जय तुम्बाहाङफे लगायतले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम आज सम्पन्न हुने बताइएको छ ।