धरान : खोटाङको ऐसेलुखर्क महेन्द्र मावि कक्षा-९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठुलो भएको छ । अप्रेसन गर्दा जिब्रो निको हुने भए पनि आर्थिक अवस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले गर्दा सहयोगको लागि परिवारले आग्रह गरेका छन् ।

तिवारीको जिब्रो उमेर सँगै बढ्न थालेपछि समस्या भएको छ । डाक्टरको सल्लाह अनुसार यो ट्युमर भएको र नशा खुम्चिएकाले जिब्रो को अप्रेसन गर्दा निको हुन्छ। अप्रेसन गर्दा छ लाख देखि सात लाख सम्म लाग्ने र यसको उपचार काठमाडौँ मेडिकल कलेजमा सम्भव हुने डाक्टरहरूले बताएका छन् ।

यही मङ्सिरको १८ गते देखि २० गतेसम्म अप्रेसनको तयारी गर्नु पर्ने भएता पनि आर्थिक अभावको कारण समस्या भएपछि 'सुष्मा तिवारी बचाउ' अभियान सुरु गरिएको छ। तरहराका युवा समाजसेवी सबिन भट्टराई र धुर्ब अधिकारीले उनको उपचारको लागि सहयोग अभियानको थालनी गरेका छन्।

आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुष्माका बुवाले आग्रह गरेका छन् । मोबाइल नं. ९८६१९०८८६३ मा सम्पर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बाबुसँग सम्पर्क समेत गर्न सकिने छ । थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८४२१८०६९१ मा सम्पर्क गरी कलिलै उमेरमा गम्भीर रोगबाट पीडित भएकी तिवारीको उपचारमा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।