धरान  : धरान उपमहानगरपालिकामा पछिल्लो समय खेलकुदको विकासमा स्थानीय तहहरूले जोड दिएका छन् ।

स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद भएको भन्दै स्थानीय तहको पनि वडा वडाबाट टोल स्तरीय प्रतियोगिता हुन थालेका छन् ।

धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रूपमा चिनिने गरिन्छ । करिब तीन दशकदेखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात् सुरु भएको मोफसलकै सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्ड कप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ ।

क्लबले आफ्नो बलबुताले भ्याएसम्म आयोजना गर्ने गरेका यस्ता प्रतियोगितालाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग गर्न थालेको छ । धरानको खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले तत्काल मेयर स्व. तारा सुब्बाले मेयर कपको आयोजना गरेसँगै अहिले वडा वडाबाट समेत प्रतियोगिता हुन थालेका हुन् ।

यसैको निरन्तरता दिँदै धरान-१४ ले गतबर्ष देखि आफ्नो वडाको युवाहरूको खेलकुदको विकास होस भन्ने उद्देश्यले टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष पनि वडा समितिले त्यसलाई निरन्तरता दियो ।

ग्रास रुटबाट नै फुटबल खेलको विकास गर्ने र स्थानीय स्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वडाध्यक्ष कपको आयोजना गरेको धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् । उनले यहाँका युवाको व्यक्तित्व विकास, अनुशासन, विवेकशील बनाउन मात्र हैन राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बताए

खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर १४ नंं वडा समिति अगाडि बढेको वडा कार्यालयले जनाएको छ । प्रतियोगिता मात्र हैन समय समयमा खेलसम्बन्धी तालिम समेत प्रदान गर्दै आएको १४ नं. वडा समितिका सचिव अनीश भट्टराईले बताए ।

त्यसो त वडा समितिको कामलाई स्थानीय बासिन्दाहरूले समेत प्रशंसा गर्दै सहयोग पुर्याउने गरेका छन् । धरान-१४ का पंकज घिमिरेले वडा स्तरबाटै सुरु भएको प्रतियोगिताले अन्य खेल खेल्न सहज हुने मात्र हैन खेलप्रति युवा पुस्तालाई रुचि हुने बताउँछन् ।

स्वास्थ्य, शिक्षासँगै खेलकुद पनि विकासको एउटा अङ्ग भएको स्थानीय सरकारलाई महसुस भएकै कारण पछिल्लो समय स्थानीय स्तरबाट नै विभिन्न प्रतियोगिता हुने गरेका छन् । यस्ता प्रतियोगिताले साँच्चै नै नेपालको खेलकुद गतिविधि चलायमान मात्र हैन नेपालका लागि राम्रा राम्रा खेलाडी उत्पादन गर्न पनि सहयोग पुग्नेछ ।