धरान : नेपाली काँग्रेसका युवा नेता सुवासकुमार पोखरेलले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। काँग्रेस महासमिति सदस्यसमेत रहेका पोखरेलले ‘साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय बताए । उनले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन्।

उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन्। पोखरेल संस्थापन इतर शेखर कोइराला निकट मानिन्छन्। नेपाली काँग्रेस खोटाङको पूर्व सभापतिसमेत रहेका पोखरेल वाक कौशल भएका, प्रखर प्रष्ट वक्ताको रूपमा चिनिन्छन्।

२०२७ सालमा खोटाङको खार्पा (हाल रावावेंसी गाउँपालिका) मा जन्मिएका पोखरेल १४ औँ महाधिवेशन अन्तरगत भर्खरै सम्पन्न जिल्ला अधिवेशनबाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

‘म परिवर्तन र विकासको संवाहक हुन चाहन्छु। हामीलाई सुदृढ, दूरदर्शी र जनताको भावना बुझ्ने विकासप्रेमी नेतृत्व चाहिएको छ।' उनले भने-जसले राजनीतिलाई कहिल्यै पेसा नबनाओस्। म राजनीति गर्नेहरूले नै थुपारेका अपूरा वाचाले गर्दा राजनीति फोहोरी खेल हो भन्ने द्वेषवादी सोचाइलाई हटाउन चाहन्छु।’