धरान : झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–३ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह-५ का २० वर्षीय सरोज मन्सुरी र २१ वर्षीय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

त्यसै गरी विशेष सूचनाको आधारमा इटहरी उपमहानगरपालिका-४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागु औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टिका राई र सोही स्थानका १९ वर्षीय धनकुमार राईलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबिच धरानका २ सहित मोरङ र झापाबाट ६ जना लागुऔषध सहित पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१६ का ३२ वर्षीय आशिष् बि.क. र ३० वर्षीय संजोग गजमेर रहेका छन् । हिजो बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

यसैबिच झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे बसपार्क एरियाबाट इलाम नगरपालिका-१० का ३६ वर्षीय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो।

यसै गरी बुद्धशान्ति गाउँपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका-११ सङ्खुवासभाका ३० वर्षीय दीपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगरपालिका-४ की १९ बर्षीया सङ्गीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।