इटहरी : १३ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेस्रो इटहरी सम्मेलन सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत वर्ष भर भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि कार्ययोजना तय गरिएको छ ।

घोषणा पत्रमा इटहरीमा नागरिकता लिन वाट वञ्चित महिला तथा उनीहरूका सन्तानको नागरिक प्राप्तिका लागि उपमहानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रत्येक वडा कार्यालयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैगिक सहायता कक्षको स्थापना गरी महिला माथि हुने हिंसाका घटनाहरूको सम्बोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चित गर्ने कार्यको थालनी गरिने भएको छ ।

यसै आर्थिक वर्षभित्र इटहरी उपमहानगरपालिकामा सुरक्षित स्तनपान कक्ष निर्माण गर्ने र क्रमशः सबै वडा कार्यालयहरूमा यो सेवा विस्तार गर्दै लैजाने नीति अवलम्बन गरिने घोषणा गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व मन्त्री डा. शिवमायाँ तुम्बाहाम्फेले महिला हिंसा न्यूनीकरणमा पुरुष सहभागितामा जोड दिइन् । उनले यस्ता अभियानहरू महिला लक्षित मात्र नभई पुरुष लक्षित समेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा,संविधानसभा सदस्य रेवतीरमण भण्डारी र अनिता परियार तथा महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खडका, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडका, जसपा इटहरी सचिव योशा गुरागाईँले सम्मेलन सफलताको कामना गरे ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै इटहरीमा लैगिक हिंसा विरुद्ध १६ दिने विशेष अभियान र वर्षै भरि अभियान सञ्चालन गरिँदै आएको जानकारी दिइन् ।

इटहरीको वडा वडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यो वर्ष उल्लेख्य कार्य गरिएको जानकारी दिइन् । उनले हिंसा पीडित महिलाका लागि उपमहानगरद्धारा सञ्चालित सुरक्षित आवाज गृहमा १८६ जना हिंसा पीडित महिलाले सेवा लिएको सुनाइन् ।

उनका अनुसार इटहरीका सबै सामुदायिक विद्यालयमा लैगिक सम्पर्क व्यक्ति तोकेर छात्रा माथि हुने हिंसा न्यूनीकरणको पहल थालिएको छ । लैगिक हिंसा न्यूनीकरणका लागि लैगिक हिंसा न्यूनीकरण कोषको व्यवस्था गरिएको छ ।

एक वर्षमा इटहरीमा ७ सय ७३ वटा लैगिक हिंसाका घटना कानुनी दायरामा आएको विवरण सुनाइन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।