चतरा : प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट विजयी भएको छ ।

वराहक्षेत्र-२ स्थित स्थानीय बाइस बिघे खेल मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटबल क्लबलाई २-१ को गोल अन्तरले पराजित गर्दै सप्तकोसी फुटबल क्लब प्रतियोगिताको अघिलो चरणमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको २६ औँ मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीको लागि भीम विकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औँ मिनेटमा सप्तकोसीले पुन: गोल गर्दै चतरा विरुद्ध २-० ले अग्रता लिएको थियो ।

दोस्रो गोल राम शाहीले गरेका थिए । पहिलो हाफमा दुई गोलले अग्रता लिएको खेलमा दोस्रो हाफको २६ औँ मिनेटमा चतराले गोल गरेको थियो । चतराकालागि दिवस लिम्बू गोल गर्दै खेलमा फर्किने लक्ष्य देखाएका थिए ।

तर त्यसपछि दुवै टिमबाट कुनै गोल नभए पछि सप्तकोसीले चतरामाथि २-१ गोलले विजयी बनेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरेका राम शाही खेलको म्यान अफ द म्याच घोषित भए । उनले वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईबाट नगद २ हजार र ट्रफि प्राप्त गरे ।

हाटखोला फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले निर्णायकलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए ।

उनले खेल मैदानको निर्माणका लागि हाटखोला फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको सफलताको शुभकामना र खेल मैदान निर्माणका लागि सबै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

क्लबका सचिव रोहित साहको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा वराहक्षेत्र-२ का वडाध्यक्ष हरिकृष्ण भट्टराई, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता भण्डारी (पौडेल), नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका निवर्तमान सभापति नारायण नेपाल, आदर्श सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष टेकमाया पाण्डे, नेपाली काँग्रेस वराहक्षेत्र-२ का सभापति अमर कटुवाल, नेकपा एमाले वराहक्षेत्र-२ का अध्यक्ष जितेन्द्र राई, किराया चतरा अध्यक्ष लालकुमार राई लगायतको आथिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत भाषण गर्दै पूर्व खेलाडी रोशन श्रेष्ठले खेलमैदानको पूर्वाधारमा जोड दिन आग्रह गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल हाट खोला फुटबल क्लब निलो र एभरेस्ट फुटबल क्लब नडाहका बिच हुने आयोजकले जनाएको छ ।