धरान : धरान-८ स्थित बरगाछीमा आज बिहानै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आज बिहान ६ बजे दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को ३७ प ११३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाटै आउँदै गरेको को १ ख ३८५५ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार इटहरी २० बस्ने २३ वर्षीय अनिता राईको मृत्यु भएको हो ।

घटनास्थलबाट उनलाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालकलाई भने सामान्य चोट मात्रै लागेको प्रहरीले जनाएको छ । पछाडिबाट बसले ठक्कर दिँदा पछाडि बस्ने उछिट्टिएर झरेकोले उनलाई बसले शरीरमै किचेको बताइएको छ ।

बस चालक इटहरी २० का ५४ वर्षीय राजु थापा र बसलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।