काठमाडौँ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आज उद्घाटन हुँदैछ ।

आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन सभापति एवं प्रधानमन्त्री शेरबहादुरले गर्दैछन । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । कोभिड-१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने बताइएको छ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरूका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति रहने बताइएको छ। उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको बताइएको छ । उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आआफ्ना धारणा राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठुला ठुला पाँच वटा डिस्प्ले स्क्रिन राखिएका छन् । सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी पूर्ण क्षमताको साउन्ड सिस्टम जडान गरिएको छ ।

महाधिवेशन स्थल पार्टीका झन्डा र चुनाव चिह्न रुख अङ्कित झन्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ भएको छ।

Congresss-3

यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन् । उनीहरूका लागि महाधिवेशन सम्बन्धी आवश्यक विवरण सहितको झोला वितरण गर्ने काम हिजो देखि नै पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुनधाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्द सत्र हुने भृकुटीमण्डपको हलमा पनि ठुलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले स्क्रिनहरू जडान गरिएका छन् । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध मिलाएको छ भने ट्राफिक प्रहरीले सवारी व्यवस्थापनको प्रबन्ध मिलाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते अर्थात् आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुनेछ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ। सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ । सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ ।

काँग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

Congresss-2