झापा : झापाको दमक ३ स्थित आमचोकका किसान पोटास मल खरिदमा ठगिएका छन् ।

पोटास भनेर खरिद गरिएको मल गुणस्तरहिन भएको प्रमाणित भएपछि उनीहरू आक्रोशित समेत बनिरहेका छन् । उनीहरूले ठगी गर्नेलाई कडा कारबाही नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

झापा दमक नगरपालिका वडा नम्बर ३ का कृषक गङ्गा प्रसाद खनालले साग सब्जी लगाउन भनेर स्थानीय बेलडाँगी बजारमा रहेको निशा पशु उपचार सेवाबाट पोटास भनी मल खरिद गरेर ल्याए ।

तर, उनी त्यति बेला चकित भए जति बेला उनले शङ्का लागेर घरायसी तवरले पोटासको परीक्षण गरे । चियाको कपमा हालेर परीक्षण गर्दा त्यहा माटो एकातिर नुन एकातिर छुट्टिएपछि उनले स्थानीय प्रहरी देखी स्थानीय सरकार सम्मलाई यस विषयमा जानकारी गराए ।

मङ्सिर १ गते दमक नगरपालिका वडा नम्बर ३ मा रहेको निशा पशु उपचार सेवामा पुगेर बाँकी रहेको पोटास भनिएको उक्त मल नगरपालिका र प्रहरीले जफत गर्‍यो ।

जफत गरिएको उक्त मलको नमुना माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीमा परीक्षणका लागि पठाइएको थियो । परीक्षण गरिएको उक्त पोटास गुणस्तरहिन भएको प्रमाणित भयो ।

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पठाएको पत्रमा उक्त पोटास गुणस्तरहिन भएको प्रमाणित गरिएको छ । तर, उक्त पोटास बिक्री गर्ने पसलका सञ्चालकलाई कारबाही नगरिएको भन्दै कृषकहरूले आपत्ती पनि जनाएका छन् ।

गङ्गा त एक प्रतिनिधि कृषक मात्र हुन् । उनी जस्ता धेरै कृषकले उक्त पसलबाट पोटास खरिद गरी ल्याएका थिए । त्यसको प्रयोग पनि गरेका छन् । अब त्यसले के कस्तो परिणाम दिने हो यस प्रति भने कृषकहरू सशङ्कित बनिरहेको दमक नगरपालिका वडा नम्बर ३ का कृषक होमराज पोखरेलले बताए ।

उक्त गुणस्तरहिन पोटास बिक्री गर्ने दमक ३ बेलडाँगीमा रहेको निशा पशु उपचार सेवाका सञ्चालकले भने आफूहरूले कुनै गल्ती नगरेको र आइन्दा अब मलनै नबेच्ने प्रतिक्रिया दिए । तर, पसल सञ्चालकले यो विषयलाई मिडियामा ल्याउन आवस्यकनै नभएको बताए । आफ्नो परिचयसम्म दिन नमानेका उनले समाचार सङ्कलनका लागि उनको पसलमा पुग्दा असामान्य व्यवहार देखाएका थिए ।

यता, गुणस्तरहिन पोटास बेच्ने पसलका सञ्चालकलाई आइन्दा मल सम्बन्धी कुनै कारोबार नै गर्न नपाउने गरी कारबाही गरिएको दमक नगरपालिकाको कृषि शाखाका प्रमुख चन्द्रकला भट्टराईले बताइन । “ती पसलका सञ्चालकले पनि अन्यत्रैबाट ल्याएको हुनाले उसलाई अरू कारबाही नगरिएको हो ।” उनले भनिन् ।

तर उनको भनाइ र कारबाही गराई बाट पीडित कृषकहरू खुसी भने भएका छैनन् । गुणस्तरहिन मल बिक्री गरेपछि यसले माटोमा पर्ने असरका बारेमा कृषकको खेतबारीमा कृषि प्राविधिकले पनि अध्ययन गर्नुपर्ने र माटो परीक्षण गरिनुपर्ने कृषकहरूको माग छ ।

Mal-1