धरान : मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाम पहिचानको आधारमा हुने बताएका छन् ।

आफू पहिले देखिनै पहिचानको पक्षमा रहेको बताउँदै मुख्यमन्त्री राईले भने-केही राजनीतिक दल र सांसदहरू पहिचानको पक्षमा नरहेकोले आफू एक्लै भए पनि पहिचानको पक्षमा उभिनेछु ।

किरात राई यायोक्खा सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटनको क्रममा धरान आइपुगेका मुख्यमन्त्री राईले प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने पक्षमा आफू रहेकोले पाँच दलीय गठवन्धनसंग निरन्तर छलफल र संवादमा रहेको बताए ।

प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने बारेमा उभिँदा आफ्नो साढे ३ दशक लामो राजनितिनै किन अन्त्य नहोस् तर दृढताका साथ पहिचानको पक्षमा उभिने प्रतिबद्धता जनाए ।

KIRAYA-2

धरान-१० स्थित किरात राई यायोक्खाको यलम्वर संग्राहलयको सभा हलमा सुरु भएको अधिवेशन स्थलमा मुख्यमन्त्री पुग्नु अघि जय किरातको नारा गुन्जिएको थियो ।

बाक्लो उपस्थिति रहेको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पहिचानको पक्षमा निर्णय गर्न निकै सकस हुने बताउँदै उनले भने -किरात सभ्यता बोकेको यो प्रदेशको नाम पहिचानको आधारमा नामकरण हुन्छ ।

आज र भोलि दुई दिन चल्ने किरायाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा राई कुलमा जन्मिएर विभिन्न सङ्घ सङ्गठनहरूमा जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ ।

सम्मानित हुनेमा मुख्यमन्त्री राजेन्द्र राई, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव संन्जिव राई, नेपाल टेलिभिजनको इटहरी प्रमुख पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र धुर्पिमाया राई रहेका छन् ।

KIRAYA-1

कार्यक्रममा किरायाका पूर्व अध्यक्ष मुगाधन राई, किरात राई युवा सङ्घका पूर्व केन्द्रीय अध्यक्ष भीम राई, नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राई, किराया केन्द्रीय सचिव दोर्पध्वज राई लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो अधिवेशनले नयाँ जिल्ला कार्यसमितिको चयन गर्ने बताइएको छ । अधिवेशन भोलि सम्म सञ्चालन हुने छ ।

Mukhyamantri