झापा : झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेका बासिन्दा केहिदिन यता दिनहुँ जसो जङ्गली हात्तीको उपद्रो खेप्न बाध्य भएका छन् ।

बस्तीसंगैको रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले उपद्रो मच्याउँदै आएपछि त्यहाँका बासिन्दा आतङ्कित हुन पुगेको कमल ५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए ।

रात परेपछि बस्तीमा देखा पर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि स्थानीयहरू रातभर त्रसित हुनु परेको कमल ५ सिम्लेका होम प्रसाद न्यौपानेले बताए ।

वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार हात्तीले सिम्ले सहित टुक्रे, क्याम्पा लगायतका बस्तीमा दिनैपिच्छे जसो उपद्रो मच्चाउँदै आएको छ ।

दिनहुँ जसो हात्तीले बस्तीमा उपद्रो मच्चाउँदै आएपछि स्थानीयले हात्ती नियन्त्रणको माग गर्दै आएको तर समस्या उस्तै रहेको सिम्लेका टेकबहादुर चेम्जोङले बताए । त्यस बस्तीमा बर्सेनी हात्तीले उपद्रो पुर्याउदै आएको छ ।