इटहरी : इटहरीमा अत्याधुनिक वहुजातीय संग्राहलय बन्ने भएको छ ।

इटहरी उपमहानगरपालिकाले निर्माण गर्ने संग्राहलयको इटहरी वडा नम्बर १० मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शुक्रवार एक समारोहका बिच शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले इटहरी उपमहानगरमा यो अत्यन्तै राम्रो कार्य हुन लागेको बताए । संग्राहलयका कारण यो क्षेत्रमा अरू विकास तानिएर आउने उनको भनाई छ । लोकसंस्कृतिको जर्गेना गर्ने यो कार्यले भविष्यमा धेरै लाभ हुने उनको विश्वास छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले संग्राहलय तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी इटहरीको गौरवको योजना भएको बताए । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले वडा नम्बर १० मा संग्राहलय निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताए ।

निक्कै राम्रो र व्यवस्थित डिजाइन गरेर काम थालिएको उनको भनाई छ । इटहरी वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले यो संग्राहलय इटहरीवासीका लागि गौरव गर्न लायक बन्ने विश्वास व्यक्त गरे ।

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले संग्राहलयमा विभिन्न जातजाति,धर्म संस्कृतिका समाग्रीहरु सङ्ग्रह गरिने बताए । उनका अनुसार दुई विगाह क्षेत्रफलमा तीन तले भवन निर्माण हुने छ । त्यहाँ २५ वटा प्रदर्शनी कक्ष हुने छन् ।

एउटा व्यवस्थित पुस्तकालय,मल्टिप्रपोज मिटिङ्गहल, पार्किङ, फाउन्डेसन, थारु ग्राम लगायत निर्माण गरिने छ । १७ करोड १५ लाख,७ हजार ६सय ७८ रुपियाँको लागतमा संग्राहलय बन्ने छ । चालु आवमा १० करोड बजेट विनियोजन भएकाले यो वर्ष करिब ६० प्रतिशत काम सक्ने योजना छ ।

शिलान्यास कार्यक्रममा वडा सदस्य राम नारायण चोैधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडानम्वर १० का कार्यवाहक वडाध्यक्ष बिसनलाल चौधरीको अध्यक्षतामा भएको हो ।