इनरुवा : सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको वडा तहबाटै राष्ट्रिय परिचय पत्रका लागि तथ्याङ्क सङ्कलन कार्य भई रहेको छ ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि जनताको घर दैलोमा सेवा प्रवाह गरी रहेको स्थानीय तहको वडा स्तरबाटै गत मङ्सिर १७ गते देखि अगामी मङ्सिर २९ गते सम्म तथ्याङ्क सङ्कलन जारी रहेको इनरुवा नगरपालिका वार्ड नं. ३ का वडा सचिव श्याम प्रसाद पोखरेलले जानकारी दिए ।

नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरूले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने छन् । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणाली मार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको अनुरूप वडा तहबाटै परिचय पत्रको लागि तथ्याङ्क सङ्कलन गरी रहेको जनाइएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागबाट कम्प्युटर, क्यामेरा, फारम, डिजिटल सही छाप लगायतका उपकरण सहित खटिएका कर्मचारी रेश्मा याम्फुले फारम अनुसार भरेको विवरणहरू वडा सचिव पोखरेलले रुजु गरी अनलाइन तथ्याङ्कमा समाविष्ट गरिरहेको जनाइएको छ । यस वडामा वडा कार्यालयबाट एक जना सहित जनता आधारभूत विद्यालयमा दुई तथा देवकोटा आधारभूत विद्यालयमा दुई गरी पाँच जना प्राविधिक कर्मचारीहरूबाट परिचय पत्रको लागि तथ्याङ्क सञ्चलन भइरहेको जनाइएको छ ।

यता परिचय पत्रका लागि भरिने फारममा ज्येष्ठ नागरिकहरूको विवाह दर्ता, बसाई सराई, मृत्यु दर्ता जस्ता कागजात आवश्यक रहेको भन्दै कतिपयले सो कागजात पेस गर्न नसकेर परिचय पत्र बनाउनबाट झन्झट भएको सेवाग्राही फेकनी चौधरीले गुनासो गरिन ।

त्यसै गरी परिचय पत्रको लागि फारम देखि डाटा इन्ट्री गर्न दिन भरीमा ३० देखि ३५ जनाको मात्र गर्न सकिने भएको हुँदा सुरुका दिनमा ७÷८ जना मात्र आउने गरे पनि पछिल्लो दिनमा ह्वातै बढेको हुँदा २–३ दिन पछि मात्र पालो आउने गरेको स्थानीय सेवाग्राहीको गुनासो रहेको छ ।