धरान : झापाको बाह्रदशी गाउँपालिका ३ त्रिवेणी चौकमा बस र भ्यान जुध्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ नम्बरको भ्यान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भ्यान चालकको मृत्यु भएको हो । भ्यानमा सवार ५ जना घाइते भएका छन् ।

आज बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाइते भएका भ्यान चालक बाह्रदशी गाउँपालिका-१ भागडुब्बाका ३४ वर्षीय प्रमोद चन्द्र उप्रेतीको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते हुनेहरूमा बाह्रदशी गाउँपालिका-१ का ५५ बर्षीया किमारी निरौला, ५५ बर्षिया गीता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ वर्षीय विशाल पौडेल रहेका छन् ।

घाइतेहरूको विएण्डसी अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका-६ का ३४ वर्षीय हर्क बहादुर बिक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।