विराटनगर : नेकपा (एमाले) को जनवर्गीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले सङ्गठन सुदृढीकरण अभियानलाई पुनःतीव्रता दिएको छ ।

चाडपर्वका कारण केही समय स्थगित गरिएको अभियानलाई मुक्ति समाज मोरङले पुनः तीव्रता दिएको हो ।
समाजले जिल्लाका १७ वटै स्थानीय तहका सबै पालिका तथा वडामा सङ्गठन सुदृढीकरण अभियान तीव्र पारेको हो ।

अभियान अन्तर्गत मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले टिकाबहादुर विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

नगर सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा कृष्णकुमारी विश्वकर्मा, सचिवमा सञ्जय सुन्च्यूरी, सह–सचिवमा नगेन्द्र धमला र कोषाध्यक्षमा अनिषा परियार चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै सदस्यहरूमा सन्तबहादुर विश्वकर्मा, हिमा बिक, तिलमाया बिक, सन्तोष दर्जी, विमला विश्वकर्मा, सम्झना विशंखेलगायत रहेका छन् ।

भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरूको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज जीतनारायण सरदारले गरेका थिए ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय सभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ इन्चार्ज खेम नेपालीले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले सिङ्गो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा सङ्गठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जातीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यस विरुद्ध सङ्गठित भएर लड्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य डिल्ली विश्वकर्मा, गङ्गा विश्वकर्मा, मुक्ति समाजका केन्द्रीय सदस्य दीपेन्द्र पासवान, नेकपा (एमाले) लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेल, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा, सचिव विनोद चाहारलगायतले लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै लेटाङ नगरपालिकाका सबै दलित समुदायलाई मुक्ति समाजमा सङ्गठित गर्न निर्देशन दिए । उनीहरूले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

नेताहरूले एमालेकै नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको नारा साकार बन्ने दाबी गरे । उनीहरूले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सबै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा लेटाङ नगरपालिकाको ९ वटै वडाबाट सयौँको सङ्ख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरी सञ्जय सुन्च्यूरी, हर्क रसाइली, तिलमाया बि.क. नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नव प्रवेशलाई टिका लगाएर नेताहरूले स्वागत गरेका थिए ।