इलाम : इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिको मानेभञ्ज्याङ फुटबल क्लब भारतले जितेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४-० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि जितेको हो । उपाधिसँगै मानेभञ्ज्याङले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

खेलको पहिलो हाफमा २ गोल गरेको मानेभज्याङले दोस्रो हाफमा समेत २ गोल थप्यो । खेलको दोस्रो हाफको मध्यतिर सुराग क्षेत्री रातो कार्ड पाउँदै मैदान बाहिरिए पनि सुखानीको पोस्टमा मानेभञ्ज्याङले २ गोल थप्न सफल रह्यो ।

प्रतियोगिताको सर्वाधिक गोल कर्ता सुराग घोषित भए । खेलको वेस्ट गोलकिपर आयोजक माईजोगमाई रातोका सुजन फागो घोषित भए ।

वेस्ट डिफेन्स सुखानीका सेरेहाङ लिम्बू घोषित भए । वेस्ट फरवार्ड मानेभज्याङका सन्दीप लिम्बू र बेष्टमिड फिल्डर विवेक राई घोषित भए । उनीहरूले नगद पुरस्कार सँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको विजेता र उपबिजेतालाई प्रमुख अतिथि र विशेष अतिथिले पुरस्कार वितरण गरेका थिए ।

फाइनल अघि भएको मैत्रीपूर्ण खेलमा सूर्योदय नगरपालिकाको कान्दुक फुटसल टिम र अमर कल्याण मावि विजयी भए । यु-१४ अन्तर्गत अमर कल्याणले टाइब्रेकरमा शुभकन्या इङ्लिस स्कुल र भेट्रान अन्तर्गत कान्दुकले माईजोगमाई भेट्रानलाई पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएको थियो ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र माईजोगमाई खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा नेपालका ७ सहित ८ टोलीको सहभागिता रहेको थियो । कार्यक्रममा खेलकुद परिषद्का अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता र प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा माईजोगमाई गाउँपालिकाको अध्यक्ष जित बहादुर राई र सूर्योदय नगर प्रमुख रन बहादुर राईको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिता गत मङ्सिर २१ गतेबाट सुरु भएको हो । प्रमुख अतिथि विशेष अतिथि र वडा नं ६ का वडाध्यक्ष भवानी प्रसाद लिङ्दमले शुभकामना मन्तव्य राखेको कार्यक्रममा खेलकुद परिषद्का सदस्य सचिव प्रवीण राईले स्वागत मन्तव्य र सञ्चालन मुकुन्द पौडेलले गरेका थिए ।